काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्वस्थ भएपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएकी छन् । शरीरमा सुगरको मात्रा अत्यन्त कम भएपछि उनलाई तत्काल अस्पताल भर्ना गरी उपचार सुरु गरिएको श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिएका छन् ।
सांसद राईका अनुसार उपसभामुखको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ र चिकित्सकको टोलीले उपचार गरिरहेको छ । “उहाँको शरीरमा सुगर कम भएको देखियो, अहिले अस्पतालमै उपचार भइरहेको छ,” उनले भने ।
उपसभामुख बिरामी परेपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी हुन सकेको छैन । सांसद राईले उपचारमा व्यस्त रहनु परेकाले बैठकमा जान नसकेको स्पष्ट पारेका छन् ।
उपसभामुखको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।












