दैलेख — दैलेखको नौमुले गाउँपालिका–१ खजुरीमा बोलेरो जीप दुर्घटना भएको छ। ग ३ च ७६४ नम्बरको बोलेरो जीप बाघखोर डाँडा पार गरेर खजुरीको ओरालोमा पुग्दा अचानक ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।
स्थानीय कमल मगरका अनुसार जीपमा यात्रारत सबै व्यक्ति सकुशल छन्। ब्रेक फेल भएको थाहा पाएपछि चालकले तुरुन्तै यात्रुहरूलाई ढोका खोल्न आग्रह गर्दै आफैं पनि जीपबाट ओर्लिएको बताइएको छ। यात्रुहरू सकुशल ओर्लिसकेपछि मात्र जीप अनियन्त्रित हुँदै खोल्सामा खसेको हो।
दुर्घटनामा जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।