काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेकी छन्।
नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै डंगोलले पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको जानकारी दिइन्। कुल बजेटमध्ये १२ अर्ब ८० करोड ८३ लाख पूर्वाधारमा, ५ अर्ब २ करोड सामाजिक विकासमा, ३ अर्ब १ करोड सुशासन क्षेत्रमा, ३ अर्ब ५१ करोड प्रशासनिक सञ्चालनमा तथा ७५ करोड आर्थिक विकास क्षेत्रमा विनियोजन गरिएको छ।
उनका अनुसार आन्तरिक आम्दानी र मौज्दातबाट २० अर्ब १२ करोड संकलन गरिने अनुमान छ भने संघ र प्रदेश सरकारबाट ४ अर्ब ९८ करोड प्राप्त हुने निश्चित भएको छ।
बजेटमार्फत फोहोरमैला व्यवस्थापन, शिक्षा सुधार, शहरी स्वास्थ्य, सार्वजनिक यातायात, ध्वनि प्रदूषण न्यूनीकरण र सम्पदा संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
डंगोलले ऐनअनुसार समयमै बजेट प्रस्तुत गर्न नसकेको स्वीकार गर्दै विगतका मनमुटाव जिम्मेवार रहेको बताइन्।