सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक १८ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। आइतबार राति करिब १ बजे आफ्नै भिनाजुले गोली प्रहार गरी अर्सी खातुनको हत्या गरेका हुन्।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सी खातुनको टाउकोमा गोली प्रहार गरेका थिए। गोली लागेपछि किशोरीको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि मिया फरार छन् भने प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ। घटनास्थलबाट एउटा गोलीको खोका फेला परेको छ। घटनास्थल भारतीय सीमासँग सटिएको क्षेत्र भएकाले अनुसन्धानमा थप चुनौती रहेको प्रहरीको भनाइ छ।
गोली प्रहारको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।