वीरगञ्ज – चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेलको आयातमा आश्चर्यजनक वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१३.४१ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा मात्र सात अर्ब ३७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको थियो ।
भन्सार प्रशासक दीपक लामिछानेका अनुसार व्यवसायीहरूले भटमासको कच्चा तेल नेपाल भित्र्याएर प्रशोधन गरी फेरि विदेशी मुलुकहरूमा निर्यात गरिरहेका छन् । उनका अनुसार चालु आवको ११ महिनामा २५ करोड ८८ लाख लिटरभन्दा बढी प्रशोधित भटमासको तेल निर्यात गरिएको छ, जसको मूल्य ५५ अर्ब तीन करोड रुपैयाँ बराबर छ ।
त्यस्तै, सूर्यमुखी तेलको कच्चा पदार्थको आयात पनि उल्लेख्य देखिएको छ । चालु आवमा सूर्यमुखीको कच्चा तेल ९ अर्ब ७५ करोड रुपैयाँ बराबर आयात भएको छ भने तीन करोड ८८ लाख लिटरभन्दा बढी प्रशोधित सूर्यमुखीको तेल ८ अर्ब ४० करोड रुपैयाँमा निर्यात गरिएको छ ।
गत आवको तुलनामा यो वर्षको आयात–निर्यात दुबैमा धेरै वृद्धि देखिएको छ । गत वर्ष सोही अवधिमा सूर्यमुखीको कच्चा पदार्थ आठ अर्ब चार करोडको आयात र प्रशोधित तेलको निर्यात नौ करोड ९४ लाख रुपैयाँ मात्र भएको थियो ।
विशेषज्ञहरूका अनुसार प्रशोधन उद्योगको विस्तारसँगै नेपाल पुनःनिर्यात केन्द्र बन्दै गएको देखिन्छ ।