दोलखा – अविरल वर्षापछि आएको पहिरोले दोलखाको जिरी नगरपालिका–९ बसेरीस्थित झाँक्रे खोला जलविद्युत परियोजनामा ठुलो क्षति पुर्याएको छ। पहिरोले परियोजनाको पावर प्लान्टको एक भाग पुरिँदा टर्बाइनमा क्षति पुगेको हो।
६३५ किलोवाट क्षमताको यो जलविद्युत परियोजनामा भएको क्षतिको पुष्टि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले गरेका छन्। उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र विस्तृत विवरण संकलन भइरहेको छ। पहिरोले के–कति क्षति गर्यो भन्ने जानकारी घटनास्थलको निरीक्षणपछि मात्र आउँछ महतोले भने।
खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य जारी राखेको जनाएको छ।
उक्त परियोजना खिम्ती १ जलविद्युत केन्द्र ले दोलखा र रामेछाप जिल्लाका बासिन्दालाई लक्षित गर्दै निर्माण गरेको हो। तर, पावर प्लान्टमा उपकरणको समस्या देखिएपछि गत फागुन महिनादेखि विद्युत उत्पादन बन्द थियो। यही बेला आएको पहिरोले थप क्षति पुर्याएको हो।
हाल झाँक्रे जलविद्युत परियोजनाबाट उत्पादन बन्द भएको अवस्थामा केआरईसी ले वैकल्पिक रूपमा ४०० किलोवाट क्षमताको हलुवा खोलाबाट उत्पादित विद्युत उपभोक्तालाई वितरण गरिरहेको छ।