सुदूरपश्चिम प्रदेशको शिल्प तथा उद्यम प्रवर्द्धन प्रतिष्ठानको पवित्र भूमिमा आज एक ऐतिहासिक क्षण साक्षी बन्यो। परम्पराको पुनर्जागरण गर्ने संकल्पसहित आचार्य कृष्ण बहादुर दमाईज्यूको अध्यक्षतामा पहिलोपटक दलित बस्तीमा विधिपूर्वक तुलसी रोपण गरिएको छ। वैदिक मन्त्रोच्चारण, धार्मिक संस्कार र भक्तिभावले ओतप्रोत यस पवित्र अनुष्ठानले शुपमा एक नवीन अध्यायको आरम्भ गरेको छ।
धार्मिक, सांस्कृतिक र चेतनात्मक दृष्टिले विशिष्ट महत्व बोकेको यो कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा आध्यात्मिक संवेदनशीलताको विस्तार र सामाजिक समावेशिताको सशक्त सन्देश दिएको छ। तुलसी, जुन सनातन धर्ममा हरिकी प्रिय, पवित्रताको मूर्ति र आयुर्वेदको अमृत वनस्पतिको रूपमा पूजनीय छ त्यसको रोपणले प्रतिष्ठानको भौतिक वातावरण मात्र होइन चेतनात्मक वायुमण्डललाई पनि शुद्ध, सकारात्मक र ऊर्जामय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्य दमाईले भन्नुभयो तुलसी मात्र बिरुवा होइन यो घर–घरको देवता हो यो धूप-दीपभन्दा बढी आत्मिक तेज प्रदान गर्ने वनस्पति हो। यसको सन्निधिमा ज्ञान, भक्ति र समर्पण स्वतः प्रस्फुटित हुन्छ। कार्यक्रममा गुरुजन, शिक्षार्थी, प्राज्ञवृन्द र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागी सबैले यो कार्यक्रमलाई गहिरो श्रद्धा, समर्पण र आत्मगौरवको भावनाका साथ स्वागत गरे।
सुदूरपश्चिम परिवारले यस कार्यक्रमलाई संस्कार, समर्पण र स्वाभिमानको प्रतीकका रूपमा ग्रहण गर्दै भविष्यमा पनि यस्ता धार्मिक–सांस्कृतिक अभ्यासलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। यो तुलसी रोपण केवल औपचारिक कार्यक्रम थिएन; यो थियो धर्म, संस्कृति र चेतनाको समवेत संकल्प। सुदूरपश्चिमको भूमि आज तुलसीमय बन्यो सुगन्धित, पुण्यमय र आध्यात्मिक उर्जाले भरिपूर्ण।