काभ्रेको पिन्थलीबेसी र चारसयबेसी खण्डमा खहरे खोलाबाट आएको लेदो पन्छाएपछि बीपी राजमार्गमा यातायातका साधन सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक सफा गरेर दुईतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको हो।
तर सडकमा ठाउँ–ठाउँमा सवारी साधन जाम हुने समस्या कायमै छ। कच्ची सडकमा गाडीहरू फस्ने, बिग्रिने र बारम्बार रोकिनुपर्ने अवस्था आउँदा यात्रु तथा चालक–सहचालकहरू हैरान बनेका छन्।
२०७८ साल असोजमा आएको बाढीले बीपी राजमार्गको उक्त खण्डमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता सडकको पुनर्निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न नभएकाले यात्रुहरूले कष्टकर यात्रा गर्नुपरेको जनगुनासो छ। यात्रुहरूले समयमै गन्तव्यमा पुग्न नसक्ने र जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो पनि गरेका छन्।