कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पले डसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी रहेकी छन्।
शुक्रबार राति छाउगोठमा सुतिरहेकी आउजीलाई सर्पले बाँया गालामा डसेको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा शनिबार साँझ ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
यद्यपि डीएसपी बोहराका अनुसार छाउगोठमा सुतेकै बेला सर्पले डसेको भन्नेबारे प्रहरीसँग आधिकारिक पुष्टि नभइसकेको छ।
तर कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले भने आउजीलाई छाउगोठमा सुत्दासुत्दै सर्पले डसेको पुष्टि गरेका छन्। उनले नगरपालिका छाउपडी कुप्रथाविरुद्ध अभियान सञ्चालन गरिरहे पनि परम्परागत सोचका कारण अझै पनि महिलाहरू छाउगोठमा सुत्ने अवस्था नरोकिएको बताए।
नगर प्रमुख ओझाले थपे हामीले गोठ भत्काउने काम निरन्तर गरिरहेका छौं, तर सचेतनाको अभावले गर्दा यस्ता दुःखद घटना दोहोरिरहेछन्।
यो घटनाले छाउपडी प्रथाले ल्याउने खतराहरू पुनः उजागर गरेको छ। स्थानीय तह र अधिकारकर्मीहरूले यसप्रति थप सक्रियता जनाउनुपर्ने मागसमेत उठ्न थालेको छ।