अछामको बान्निगढी जयगढ गाउँपालिकामा जुवा खालमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन्।
शनिबार बान्निगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा दीर्घ साउँदको पुरानो घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पक्राउ पर्नेमा बान्निगढी जयगढ गाउँपालिका–४ का ४१ वर्षीय खेमराज शर्मा, गाउँपालिका–२ का ५५ वर्षीय गणेश बहादुर साउँद, मंगलसेन नगरपालिका–९ का ३५ वर्षीय छत्र विक्रम रावल, नगरपालिका–५ का ४२ वर्षीय तेज प्रसाद ढुंगाना, नगरपालिका–४ का ५१ वर्षीय एकेन्द्र धामी र सोही वडाका ४० वर्षीय दीपेन्द्र शाह रहेका छन्।
प्रहरी निरीक्षक टेक बहादुर देउवाको कमाण्डमा गएको प्रहरी टोलीले जुवा खालबाट नगद १८ हजार ९५ रुपैयाँ समेत बरामद गरेको जनाएको छ।
प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। जुवा जस्तै सामाजिक विकृति अन्त्य गर्न यस्ता अपरेशनलाई तीव्र पारिने प्रहरीको भनाइ छ।