नुवाकोट — नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा एक ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु भएको छ। घर नजिकैको खेतको आलीबाट लडेर गम्भीर घाइते भएका बालक मनिष गिरीको उपचारका क्रममा ज्यान गएको हो।
स्थानीयवासी दीपक कार्कीका अनुसार गम्भीर घाइते भएका गिरीलाई काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको हो।
मृतक बालक काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिए। विद्यालय विदामा घर आएका बेला उनी दुर्घटनामा परेका हुन्। उनका पिता उद्धव गिरी वैदेशिक रोजगारीमा साउदी अरबमा छन् भने आमा १० वर्षअघि आएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकी थिइन्।