ताप्लेजुङ — ताप्लेजुङमा आइतबार बोलेरो गाडी दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गएको छ। फुङलिङ नगरपालिका–११ की २८ वर्षीया भावना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिएका छन्।
विक सिरिजङ्गा गाउँपालिका–३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत थिइन्। दुर्घटना फुङलिङबाट सिरिजङ्गा जाँदै गरेको मे १ ज ३२९६ नम्बरको बोलेरो गाडी फावाखोला क्षेत्रको बनपाला भन्ने स्थानमा ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खस्दा भएको हो।
गम्भीर घाइते भएकी विकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीका चालक ३३ वर्षीय सविन विष्ट घाइते छन् र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।