काठमाडौँ — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम निरीक्षण गर्न संसदीय समिति सोमबार मैदानमा पुग्ने भएको छ।
आइतबार बसेको संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकले मैदानको अनुगमन गर्ने निर्णय गरेको हो। समितिका सभापति ठाकुरप्रसाद गैरेका अनुसार सोमबार दिउँसो २ बजे क्रिकेट मैदानको अवलोकन गरिनेछ।
हाल मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेका छन्। काम समयमै सम्पन्न नभएपछि निर्माण कम्पनीलाई हर्जाना भराएर काम अगाडि बढाइएको समितिले जनाएको छ।
प्यारापिट निर्माणको जिम्मा बीकेओआई केसिडिसी बिजी जेभी कम्पनीले लिएको छ भने फ्लड लाइट जडानको जिम्मा विशन ईश्वरी जेभी कम्पनीले पाएको हो। दुवै कम्पनीले शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग गत फागुन १९ र २२ गते सम्झौता गरेका थिए।
संसदीय समितिले अनुगमनमार्फत कामको प्रगति, ढिलाइको कारण र आगामी योजना बारे जानकारी लिने तयारी गरेको छ।