भारतको हिमाञ्जल प्रदेश सिमला जिल्लाको कोटखाई नजिक भएको गाडी दुर्घटनामा चार नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। तीन जना मृतक एउटै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको हो। घाइते अवस्थामा उद्धार गरिएकी लक्ष्मी मल्ल शाही उपचारको क्रममा निधन भइन् भने गम्भीर घाइते डिल्लीबहादुर शाही पनि इन्दिरा गान्धी मेडिकल कलेज अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाएका हुन्। अन्य दुई घाइतेलाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।
द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय न्याय संहिता (IPC) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जनाएका छन्। शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।
यसबीच हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।
त्यस्तै शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन्।














