पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने स्वस्थानी व्रत, माघ स्नान तथा स्वस्थानी कथा वाचन आजदेखि सुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक पूजा–आराधना गर्दै स्वस्थानी व्रत प्रारम्भ गरेका छन्।
धार्मिक विश्वासअनुसार सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको मान्यताका आधारमा विभिन्न शक्तिपीठमा यस अवधिमा विशेष पूजा गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरुआत गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान र मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने परम्परा छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्य (स्वस्थानी कथा) वाचन गरिन्छ, कुल परम्पराअनुसार बिहान वा बेलुकी कथावाचन गर्ने चलन छ।
माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्यलगायत सामग्री अर्पण गरी व्रत समापन गरिन्छ। चढाइएका प्रसादमध्ये निश्चित अंश पति, छोरा वा मीत छोरा नभए नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ। राति जाग्राम बसेर देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ। यसो गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
स्वस्थानीको अर्थ ‘आफू बसेको स्थानकी देवी’ भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान-योग साधनाका लागि उपयुक्त मानिएकाले आत्मसाधनासँग यसको सम्बन्ध जोडिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्ण, त्रिनेत्रधारी, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति र इच्छित वर प्राप्त हुने विश्वास प्रचलित छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको, नाग-नागिनीको पुनर्मिलन तथा गोमा ब्राह्मणीले व्रतका प्रभावले पुत्र वियोगबाट मुक्ति पाएको कथाहरू स्वस्थानीमा उल्लेख छन्।
यसै अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौं उपत्यकाको उत्तर-पूर्वी क्षेत्रमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु भएको छ। माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरे पाप पखालिई पुण्य प्राप्त हुने विश्वासका कारण देश–विदेशबाट लाखौँ भक्तजन आउने गर्छन्। शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सबै तयारी पूरा भएको छ।














