बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आज असोज संक्रान्तिको अवसरमा बुढी पोल्ने पर्व मनाइँदै छ। द्वापर युगमा भगवान् श्रीकृष्णले राक्षसी पुतनालाई मारेको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको छ।
भाद्र संक्रान्तिका दिन ठड्याइएको लिंगोलाई आज पोलेर ‘बन्ढुनी पर्व’ का रूपमा मनाइन्छ। यस दिन गाईवस्तुको हेरचाह गर्ने गोठालाहरूले काँस, अम्रिसो लगायत पाँच जातका घाँसले बनाएको राँको जलाउने गर्छन्।
धार्मिक विश्वासअनुसार दोबाटोमा जलाइएका पुतनाको खरानीको तिलक गाईवस्तुलाई लगाइएमा रोगबाट बचाउने मान्यता छ। साँझपख काँक्रो चपाएर पुतनाको मूर्तिमा फाल्दै ‘थुई बुढी थुई’ भन्ने चलन पनि रहिआएको छ।
सदियौँदेखि धार्मिक र सांस्कृतिक महत्व बोकेको यो पर्व आज सुदूरपश्चिममा विशेष उत्साहका साथ मनाइँदै छ।













