भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। नेपालतर्फ रोग नफैलियोस् भनेर जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गरेको छ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार दोधाराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। उनले भारतसँग खुला सीमा र सस्तो मूल्यका कारण अवैध आयात हुने जोखिम भएकाले नेपालमा सङ्क्रमण भित्रिन सक्ने भन्दै सतर्कता आवश्यक रहेको बताए।
बर्डफ्लु सङ्क्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने हुँदा किसानलाई यस्ता लक्षण देखिएमा तुरुन्तै पशु विज्ञ वा नजिकैको भेटेरिनरी अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ।
यसैबीच समितिले भारतीय कुखुराको नेपाल भित्र्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। उत्तराखण्डको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु पुष्टि भएपछि मंगलबार बसेको बैठकले नेपालतर्फ रोग प्रवेश रोक्न पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका–१, २ र १० को सीमाबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात–ओसारपसारलाई निषेध गर्ने निर्णय गरेको हो।
निर्णय कार्यान्वयनका लागि सुरक्षा निकाय, पशु सेवा विज्ञ केन्द्र, भेटेरिनरी अस्पताल र क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने व्यवस्था गरिएको छ। अवैध रूपमा सामग्री आयात भएमा नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने पनि समितिले चेतावनी दिएको छ।