ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशमा कुनै पनि प्रकारको अनियमितता र भ्रष्टाचार क्षम्य नहुने चेतावनी दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री घिसिङले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर मात्र समृद्धितर्फ अघि बढ्न सकिने उल्लेख गर्दै युवापुस्ताले देशभित्रै रोजगारी र काम गर्ने वातावरण खोजिरहेको बताए ।
सुशासनका मुद्दा अब उपेक्षित हुन नसक्ने बताउँदै मन्त्री घिसिङले कुनै पनि अनियमितता वा भ्रष्टाचारको गन्ध आएको खण्डमै कारबाही हुने चेतावनी दिए । यदि यस्ता गतिविधि फेरि दोहोरिए भने अर्को ठूलो विद्रोह नजिकै आउन सक्छ, जसले कसैलाई पनि नछोड्नेछ उनले भने ।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन सुनिश्चित गर्न स्पष्ट निर्देशन दिँदै कुनै पनि किसिमको अनियमितता पाइए तत्काल कारबाही हुने बताए ।














