काठमाडौं – नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल पक्षको महाअष्टमीका दिन शक्तिस्वरुपा देवी महागौरीको पूजा गर्ने परम्परा छ ।
धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने मान्यता छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका विभिन्न स्वरूपको विशेष आराधना गर्ने गर्छन् ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नै नवदुर्गा नामले पनि चिनिन्छन् ।
नवरात्रमा पूजाआराधना गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा छ । यसरी झण्डै १५ दिनसम्म नेपालीले बडादशैं पर्व उल्लासपूर्वक मनाउने गर्छन् ।
देशभरका शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा आज भक्तजनको भीड देखिएको छ ।














