मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ। तुइन खोला पुल नजिक खसेको बाँकी पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरले सडक बन्द गर्ने निर्णय गरेको हो।
गत शुक्रबार खसेको पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। आइतबार साँझ एकतर्फी सञ्चालनमा आएको सडक राति यात्रा जोखिमपूर्ण हुने भएकाले पुनः बन्द गरिएको थियो।
हाल तुइन खोला नजिक सडक एकतर्फी मात्र सञ्चालनमा छ भने अन्य भागमा दुईतर्फी आवागमन भइरहेको छ। दशैंका कारण यात्रुको चाप बढेकाले बाँकी पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।
सवारी चाप बढेसँगै जाम समस्या देखिएकोले ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालयले चालकहरूलाई लेन अनुशासन पालना गर्न आग्रह गरेका छन्।














