बैतडी — बैतडीको पाटन नगरपालिका–८ रिसेडीमा आइतबार राति सबैलाई चकित पार्ने घटना घटेको छ । आफ्ना श्रीमान र छोरालाई छोडेर अर्कै पुरुषसँग गएकी २५ वर्षीया जानकी मडैले पाँच महिना पछि आफ्नै ४ वर्षीय छोरालाई फिल्मी शैलीमा अपहरण गरेकी छिन् ।
जानकी हालका पति भनिएका भण्डारी थरका एक पुरुष र अर्को सहयोगीसँग आइतबार दिउँसो खोड्पे पुगेकी थिइन् । मध्यरातमा गाउँ नजिकैको मन्दिरमा बसेर योजनाबद्ध ढंगले उनीहरूले अपहरणको घटना घटाएका हुन् ।
प्रहरीका अनुसार आइतबार मध्यरात १२ बजे दुई पुरुषले घरमा रहेका चौपाया फुकाइदिए । चौपाया बाध्न बाहिर निस्किएका जानकीकी सासु र नन्दलाई गोठमा बाँधेर छोडेपछि जानकीले सुतेको छोरालाई लिएर भागेकी थिइन् ।
सासु–नन्दको चिच्याहटपछि छिमेकीले थाहा पाए र घटनाबारे प्रहरीलाई खबर गरियो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली रातिदेखि नै खोजतलासमा खटिएको थियो । सोमबार दिउँसो पाटन–२ को बिनोडा टोलबाट बच्चासहित जानकीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बच्चा अपहरण भएको सूचना पाएलगत्तै हामी अलर्ट भइ रातिदेखि नै खोजतलासमा थियौं । सोमबार दिउँसो बच्चा सकुशल भेट्यौं प्रहरी निरीक्षक साउँदले भने ।
हाल जानकी प्रहरी नियन्त्रणमा रहेकी छन् भने ४ वर्षीय बालकलाई हजुरआमासँगै सुरक्षित आवासगृहमा राखिएको छ । यस घटनामा संलग्न भनिएका भण्डारी थरका पुरुष र अर्का सहयोगी भने फरार रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे कानुनी प्रक्रिया अघि बढाउन कानुनी परामर्श भइरहेको प्रहरीले जनाएको छ । आफ्नै आमाले बच्चा लगेकाले अधिकारको विषय पनि उठ्छ, कानुनीरुपमा थप छलफल भइरहेको छ निरीक्षक साउँदले बताए ।
जानकीले पाँच महिना अघि भारतमा बस्दै आएका भण्डारी थरका पुरुषसँग विवाह गरेको बताइए पनि त्यो कानुनीरूपमा वैध छ भन्ने पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ । परिवारका आफन्तले भने आमाविरुद्ध अपहरण मुद्दा दर्ता गर्न माग गरेका छन् ।













