आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा निर्वाचन तयारी तीव्र रूपमा अघि बढेको छ। मतदाता नामावली दर्ता तथा अद्यावधिकदेखि लिएर सुरक्षा व्यवस्थासम्मका तयारीहरू विस्तार भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिल पौडेलका अनुसार मतदानलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभरका मतदान केन्द्रलाई तीन वर्ग अतिसंवेदनशील, संवेदनशील र सामान्यमा विभाजन गरिएको छ। कात्तिक १२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्गीकरण गरेको सूची गृह मन्त्रालयमा पठाइएको छ। दार्चुलाका १४१ मतदान केन्द्रमध्ये २२ वटा अतिसंवेदनशील,४१ वटा संवेदनशील,७८ वटा सामान्य को सूचीमा राखिएको प्रजिअ पौडेलले बताए।
२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा १४ मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको थियो। यसपटक भौगोलिक दुरी, विकटता, सुरक्षा पोस्टको पहुँच, मतदाताको संख्या तथा विगतका चुनाव समीक्षाका आधारमा वर्गीकरण गरिएको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार दार्चुलामा १४१ मतदान केन्द्र र ११२ मतदान स्थल रहनेछन्।
यसैबीच दार्चुलामा मतदाता नामावलीमा नाम दर्ताका लागि उत्साह बढेको देखिएको छ। सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार दर्ता प्रक्रिया सुरु भएपछि अहिलेसम्म ९४३ जनाले नाम दर्ता गराएका छन्। यसअघि जिल्लामा ९०,७८२ जना मतदाता रहेका थिए। दार्चुलामा निर्वाचन तयारी प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच समन्वयपूर्वक तीव्र गतिमा अघि बढ्दैछ।










