त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू मैदान) वरपर अनावश्यक भीडभाड नगर्न नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको खेलका सबै टिकट सकिएको जानकारी प्राप्त भएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो।
प्रहरीले एक सूचना जारी गर्दै भनेको छ टिकट नभएका महानुभावहरूले उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।
एनपीएलको दोस्रो संस्करण आजदेखि टीयू मैदानमा सुरु हुँदैछ। उद्घाटन खेल साँझ ४ बजेदेखि काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्सबीच हुनेछ। टीयू मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेकाले उत्साह झनै बढेको छ।
यसपटकको एनपीएलमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीहरूले प्रतिस्पर्धा गर्दैछन्।










