सुर्खेतको बिरेन्द्रनगर–६ सनिहल लाइनस्थित १८ वटा सटर रहेको दुई तले टिन छाएको सुपरमार्केटमा भएको भीषण आगलागी प्रकरणमा संलग्न एक जना पक्राउ परेका छन्।
आज बिहान करिब ४:२० बजे नबदुर्गा बेबी शप (सटर नं. १) मा आगलागी भई पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। उक्त बेबी शप बिरेन्द्रनगर-६ की जुना कुमारी बोहोराद्वारा सञ्चालन हुँदै आएको थियो। त्यसैगरी नजिकैको सटर नं. २ मा रहेको खगिसरा बुढा रोकाय द्वारा सञ्चालित अचार पसल पनि आगलागीमा परि पुरै नष्ट भएको छ।
प्रहरी तथा दमकलको टोली खटिएर बिहान ५:०० बजे आगो नियन्त्रणमा लिन सफल भएको भए पनि पूर्ण क्षतिको विवरण आउन बाँकी छ। घटनास्थलमा बुझिएका सामाग्रीअनुसार आगलागीको सम्बन्धमा लेखिएको नोट फेला परेको र घटनामा संलग्न भएको आशंकामा फरार रहेका दीपक कँडेल (२८), विरेन्द्रनगर-८ लाई मंसिर २ गते प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार घरायसी विवादको कारण उनले आगलागी गराएको खुल्न आएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।









