काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। सो मुद्दा संवैधानिक इजलासमा पेशी तोकिएकाले बुधबार सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको हो।
सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संयुक्त इजलासमा हुनेछ।
विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते रिट दायर गरेका थिए। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै उनलेहरू न्यायालयको हस्तक्षेप माग्दै सर्वोच्च अदालतमा मुद्दा लिएर गएका हुन्।
आजको पेशीमा यो रिटलाई क्रम संख्या ६ मा राखिएकोले इजलासमा राखिएका अन्य मुद्दाहरूको सुनुवाइ सकिएपछि मात्र अन्तिममा बहस हुने सर्वोच्च अदालतले जनाएको छ।













