मधेश प्रदेशमा जारी राजनीतिक अनिश्चितता चुलिंदै जाँदा मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिन तयार भएका छन्। विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि उनले आजै प्रदेश सभा बैठकमा धारणा राखेर औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ।
आज बिहान साढे ८ बजेका लागि बोलाइएको विश्वासको मतका लागि प्रदेश सभा बैठक मुख्यमन्त्री उपस्थित नहुँदा तोकिएको समयमा सुरु हुन सकेन। बैठकलाई पुनः दिउँसो २ बजेसम्म स्थगित गरिएको छ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार कायम राख्न ५४ मत आवश्यक छ। तर सत्तापक्षमा रहेको एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एक जना निलम्बित छन्। साथै नेपाल संघीय समाजवादी र राप्रपाबाट एक–एक सिटको मात्र साथ छ। यस्तो अंकगणितमा मुख्यमन्त्री यादवको पक्षमा विश्वासको मत जुट्ने सम्भावना अत्यन्त न्यून देखिन्छ।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएकी राप्रपाकी वन तथा वातावरणमन्त्री कञ्चन बिच्छाको सांसद पदसमेत संकटमा परेको छ। राप्रपाले आइतबार नै उनलाई पदबाट हटाउन प्रदेश सभा सचिवालयमा पत्रसमेत पठाइसकेको छ।
उता सातदलीय गठबन्धन भने ७३ सांसदसहित मजबुत देखिन्छ। गठबन्धनमा नेपाली कांग्रेस २२, जसपा नेपाल १८, जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्। अंकगणित हेर्दा सत्ता परिवर्तनतर्फको बाटो प्रस्ट भइसकेको देखिन्छ।
मधेश प्रदेशको आगामी राजनीतिक परिदृश्य आज हुने घटनाक्रमसँगै थप स्पष्ट हुने अपेक्षा गरिएको छ।













