मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा राजीनामाको घोषणा गरेका हुन्।
सोमबार साँझ सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि आज बिहान बैठक बोलाइएको थियो। तर सत्तापक्षकै सांसद अनुपस्थित भएपछि बैठक सारेर दिउँसो २ बजे राखिएको थियो।
विश्वासको मत नपाउने परिस्थिती स्पष्ट भएपछि मुख्यमन्त्री यादवले बैठकमै राजीनामाको निर्णय लिए। उनले कात्तिक २३ गते संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रदेशका सात दलका सांसदहरू सर्वोच्च अदालत पुगेका थिए।
यससँगै मधेस प्रदेशमा पुनः राजनीतिक तरंग आएको छ र नयाँ सत्ता समीकरणबारे बहस सुरु भएको छ।














