जिल्ला कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये हालसम्म ३८८ जना फिर्ता आएका छन्। फिर्ता आएकामध्ये ३७१ पुरुष र १७ महिला रहेका छन्।
कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार अझै ९९ जना कैदी फरार रहेका छन् जसमा १७ महिला समेत छन्। उनका अनुसार फिर्ता भएका मध्ये ६३ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो।
हाल कारागारमा १४ भारतीय नागरिक कैद सजाय भोगिरहेका छन् भने १७ भारतीय कैदी अझै फरार छन्। स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कानुनी कारबाही हुने कारागार प्रशासनले जनाएको छ।
जोशीका अनुसार फरार कैदी वा थुनुवा लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइनेछ।
स्वेच्छिक रूपमा फर्किन पटकपटक सार्वजनिक अपिल गरिए पनि केही कैदी अझै सम्पर्कमा नआएकाले प्रहरीले खोजी तथा पक्राउ कार्य तीव्र पारेको निमित्त प्रशासक जोशीले बताएका छन्।














