बैतडी – सामाजिक सञ्जालमार्फत नेकपा एमाले परित्याग गरेको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले हप्ता दिन नपुग्दै आफू पुनः एमालेमै फर्किएको घोषणा गरेका छन्।
१३ मंसिरमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए। एकलौटी र गुटबन्दी गरिएको भन्दै चन्दले तत्कालीन आक्रोशमा गरेको निर्णयलाई अब भने पुनर्विचार गरेका छन्।
बुधबार सामाजिक सञ्जालमै नयाँ जानकारी सार्वजनिक गर्दै चन्दले लामो छलफल र गहन समीक्षापछि आफू पुनः नेकपा एमालेमै सक्रिय हुने निर्णय गरेको बताएका छन्। उनले प्रदेशका शीर्ष नेताहरू पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, योजना आयोगका सदस्य डा. हिरा चन्दलगायतसँग गहन छलफल भएपछि आफू निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।
महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा मेरो बिमति रहेकाले हतारमा पार्टी परित्याग गरिएको थियो। तर जिम्मेवार नेतासँगको गहन समीक्षा र आग्रहपछि पुनः एमालेमै क्रियाशील रहने निर्णय गरेको छु चन्दले लेखेका छन्।
हप्ता दिन नपुग्दै चन्दले निर्णय फिर्ता लिनु स्थानीय राजनीति र एमाले भित्रको समायोजन प्रक्रियाको संकेतका रूपमा हेरिएको छ।














