दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला परेका छन्। लमही-५ स्थित होटल अर्घाखाँची एण्ड लज का सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नै कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार खनाल तीनतले होटलको पहिलो तलामा परिवारसहित बस्दै आएका थिए। आज बिहान उनी सुत्ने कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन्।
इन्सपेक्टर पाण्डेले कोठाभित्रबाट लक गरिएको अवस्थामा शव फेला परेकाले आत्महत्याको आशंका गरिएको बताए।कोठा भित्रबाट लक थियो, त्यसैले सुसाइड जस्तो देखिन्छ,उनले भने, मुचुल्का उठाएर विस्तृत अनुसन्धान सुरु गरेका छौं।
प्रहरीले घटनाको सबै पक्षमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।














