मोरङको सुन्दरहरैचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका-१२ विराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि आज बिहान करिब साढे ६ बजे स्थानीय डेरीतर्फ जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परेका थिए। विराटचोकस्थित बस्ती नजिकै हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको हो।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाई शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। पछिल्लो समय मोरङका विभिन्न बस्तीमा जङ्गली हात्तीको आवतजावत बढ्दै जाँदा मानवीय क्षति हुने क्रमसमेत बढिरहेको स्थानीयले गुनासो गरेका छन्।
प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै हात्ती देखिएमा नजिक नजान र तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।














