दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा जंगली भालुको आक्रमण हुँदा दुई जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणमा परेर नौकुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ तथा कालिका गाउँपालिका-५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल घाइते भएका हुन्।
स्थानीय रामप्रसाद पौडेलका अनुसार उनीहरू सोमबार बिहान निजी जमिनमा घाँस काटिरहेको बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जतर्फको जंगलबाट आएको भालुले अचानक आक्रमण गरेको हो।
घाइते दुवै जनालाई स्थानीयस्तरमै प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ।














