नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।
लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्। साविक विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएपछि यस संस्करणमा एनपीएलले नयाँ विजेता पाउने निश्चित भएको छ।
गत संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुरसँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। यसपटक भने लगातार दोस्रो सिजन फाइनल पुगेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ।
फाइनलअघि दुवै टोली उत्कृष्ट लयमा देखिएका छन्। सुदूरपश्चिमले प्रतियोगितामा एकमात्र हार बेहोरेको छ भने लुम्बिनीले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको छ। सुदूरपश्चिम लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर हुँदै फाइनलसम्म आइपुगेको हो।
फाइनल प्रवेशका क्रममा दुवै टोलीले विराटनगर किंग्सलाई पराजित गरेका थिए। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनल स्थान पक्का गरेको थियो भने लुम्बिनीले इलिमिनेटर जितेपछि क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गरेको थियो।
कप्तानहरू उपाधि जित्नेमा विश्वस्त देखिएका छन्। सुदूरपश्चिमका कप्तान ऐरीले गत वर्षको कमजोरी सुधार गर्दै यसपटक च्याम्पियन बन्ने दाबी गरेका छन्। यता लुम्बिनीका कप्तान पौडेलले टोली सबै हिसाबले तयार रहेको र उपाधि जित्न आत्मविश्वासी रहेको बताएका छन्।
एनपीएल विजेता टोलीले एक करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।














