विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर क्यासिनो सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
विदेशी नागरिकलाई मात्र प्रवेश दिनुपर्ने कानुनी व्यवस्था उल्लङ्घन गर्दै नेपाली नागरिकलाई लुकिछिपि क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको गुनासो आएपछि प्रहरीले कारबाही गरेको हो। लामो समयदेखि नेपालीहरूलाई जुवा खेल्न दिइएको सूचनाका आधारमा प्रहरीले गएराति करिब ११ बजे एकैसाथ छापा मारेको थियो।
छापाका क्रममा विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्र रहेको गोल्डेन क्यासिनोमा नेपाली नागरिक खुलेआम जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतमलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलस्थित क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नागरिकलाई रंगेहात पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध सोमबार जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।














