कञ्चनपुर कारागारमा भएको घटनापछि कारागारका नाइकेसहित १३ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। आज बेलुकी उनीहरूलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको हो।
गत शुक्रबार कारागारभित्र कैदीबन्दी र नाइके–चौकीदारबीच विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको थियो। कैदीबन्दीहरूले नाइके–चौकीदारले आफूहरूले पाउने सेवा–सुविधामा आर्थिक चलखेल गरेको तथा कारागारभित्र अवैध गतिविधि सञ्चालन गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताइएको छ।
कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीका अनुसार कञ्चनपुर कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीबन्दीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको हो।
कैदीबन्दी र नाइकेबीचको विवादपछि भएको झडपमा ८ जना कैदीबन्दी घाइते भएका थिए। घटनापछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छानबिन समिति गठन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन्।
समितिले घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।














