वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यका पेट्रोलियम पदार्थ आयात भएका छन्। सो अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थबाट मात्र रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ६.४२ प्रतिशत अर्थात् रु १ अर्ब ८३ करोड बढी राजस्व उठेको हो।
गत आवको पाँच महिनामा वीरगञ्ज नाकाबाट रु ६९ अर्ब १५ करोड मूल्यका पेट्रोलियम पदार्थ आयात भएका थिए।
चालु आवको पाँच महिनामा सबैभन्दा बढी रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेल आयात भएको छ। त्यसैगरी रु १२ अर्ब १७ करोडको एलपी ग्यास रु ७ अर्ब २५ करोडको एटिएफ रु १७ करोड ३६ लाखको पेट्रोल र रु १९ करोडको मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ।














