प्रदेश अस्पताल सुर्खेतमा संकलित राजस्व रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ। अस्पतालले सञ्चालनमा ल्याएको डल्फिन सफ्टवेयरमार्फत संकलन गरिएको रकम हिनामिना गरेको अभियोगमा कुमारी बैंकको एक्स्टेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगर, तृप्ती शाही र लेखा अधिकृत शंकर प्रसाद सुवेदी दोषी ठहर भएका हुन्।
अदालतका अनुसार उनीहरूले कुल ३४ लाख ३ हजार ८५७ रुपैयाँमध्ये स्वास्थ्य बीमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैयाँ हिनामिना गरेको ठहर गरिएको छ। उठाइएको उक्त रकम बैंक खातामा दाखिला नभएको पुष्टि अदालतको आदेशमा उल्लेख छ।
विशेष अदालतले दोषी ठहर गरिएका व्यक्तिहरूलाई सजाय निर्धारणका लागि यहीँ पुस १८ गते सुनुवाइ गर्ने जनाएको छ।
अदालतको आदेश अनुसार अस्पताल परिसरमा रहेको कुमारी बैंकको एक्स्टेन्सन काउन्टर इन्चार्ज सिंजाली मगरले तृप्ती शाहीलाई अनधिकृत रूपमा बैंक काउन्टरमा प्रवेश गराई डल्फिन सफ्टवेयरबाट जारी बिलका आधारमा उठाइएको रकम अस्पतालको खातामा जम्मा नगरेको पाइएको हो।













