नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्।
जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गरिरहेको आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।
आयोगले यसअघि नै उनलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियालाई निरन्तरता दिँदै लेखक सोमबार आयोगको टोलीसमक्ष आफूलाई थाहा भएको जानकारी र घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जाने उनको सचिवालयले पुष्टि गरेको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेका छन्। पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान तथा भदौमा घटेका घटनासँग सम्बन्धित विभिन्न पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।














