नेपाल प्रहरीले काठमाडौँको गोङ्गबु क्षेत्रबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले टोखा नगरपालिका-९ मङ्गल टोलस्थित एक घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दै कालीकोट नरहरिनाथ गाउँपालिका-२ का २४ वर्षीय धनबहादुर विष्टलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विष्टको साथबाट ४५ दशमलव १८ ग्राम खैरो हिरोइन, विभिन्न कम्पनीका सात थान मोबाइल फोन, नगद ३५ हजार रुपैयाँ तथा एक थान डिजिटल तराजु बरामद गरिएको छ।
पक्राउ परेका विष्टलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














