काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले युवामैत्री कांग्रेस निर्माणको माग गर्दै शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।
पार्टीभित्र युवाको सहभागिता र अधिकार सुनिश्चित गर्न माग गर्दै नेविसंघका केही सदस्यहरूले ‘पार्टी एकता आजको आवश्यकता हो’ ‘हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर’ ‘परिमार्जन बिनाको महाधिवेशन मान्य हुँदैन’ ‘विधान संशोधन गर’ ‘एक व्यक्ति, एक पद’ लगायतका प्लेकार्डसहित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
धर्ना कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टीले आगामी बैठकहरूमा युवाको भूमिका र सुझावलाई गम्भीरताका साथ लिनुपर्ने बताए । उनले पार्टीमा युवाको क्रियाशील सदस्यता कम्तीमा ३० प्रतिशत पुर्याउनुपर्ने माग गर्दै भने युवाको सहज प्रवेश र अवसर बिना कांग्रेसले युवा शब्दको सार्थकता देखाउन सक्दैन।
उप्रेतीले युवामैत्री र चलायमान संगठन निर्माणका लागि विधान संशोधन अनिवार्य भएको बताए । उनले पार्टीको विधानमा सबै तहका प्रतिनिधिमूलक पद, समिति र विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।
जेनजी आन्दोलनपछिको सन्दर्भमा उनले भने कांग्रेसले अब युवालाई अटाउने, सुन्ने र अगाडि बढाउने सन्देश दिनुपर्छ। कांग्रेस युवामैत्री पार्टी हो भन्ने अनुभूति दिलाउन जरुरी छ।
उनले केन्द्रीय समितिको आगामी बैठकले युवामैत्री कांग्रेस निर्माणको स्पष्ट निर्णय गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।














