बैतडी – बैतडीको पाटन नगरपालिका-८ ले जेष्ठ नागरिकप्रति सम्मान र सेवाको भावनालाई व्यवहारमै उतार्दै प्रशंसनीय कार्य गरेको छ।
वडा अध्यक्ष हरिश विष्टको नेतृत्वमा वडा सदस्यहरू तथा वडा कार्यालयका कर्मचारीहरूको टोलीले वडाभित्रका १९ जना जेष्ठतम नागरिकलाई न्यानो ब्ल्यान्केट वितरण गरेको हो।
टोलीले जेष्ठ नागरिकहरूको घरदैलोमै पुगेर ब्ल्यान्केट वितरण गर्नुका साथै सम्मान तथा अभिनन्दन गर्दै आत्मीयता प्रकट गरेको थियो। जेष्ठ नागरिकलाई राज्य र समाजले दिएको कदरको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष विष्टले बताए।
यसैबीच चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर नवीकरणका क्रममा बायोमेट्रिक भेरिफिकेशन हुन नसकेका केही लाभग्राहीहरूका लागि वडा कार्यालयले थप सहजीकरण गरेको छ।
वडा अध्यक्ष विष्टको पहलमा वडा कार्यालयको टोली टोल–टोलमै पुगेर बायोमेट्रिक प्रमाणीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। यसबाट ज्येष्ठ नागरिक तथा असहाय लाभग्राहीहरूलाई ठूलो राहत पुगेको छ।
वडाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै गर्दै आएका यस्ता कार्यप्रति स्थानीय नागरिकहरू हर्षित भएका छन् र वडा कार्यालयको सक्रियताको खुलेर प्रशंसा गरेका छन्।













