नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ भूपति चोकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बिहीबार राति गिरुवरीबाट वसन्तपुरतर्फ गइरहेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी ३५ वर्षीया शोभा सिग्देल र इन्दिरा कोइरालालाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी शोभाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले जानकारी दिए।
इन्दिरा कोइरालाको अवस्था गम्भीर रहे पनि हाल अस्पतालमा उपचार जारी छ।
त्यसैगरी मोटरसाइकल चालक हुप्सेकोट–२ का ३५ वर्षीय निशान सिंह ठकुरी र पछाडि सवार ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।