बैतडी जिल्लाको पाटन नगरपालिका–३ गुजरमा अवस्थित बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थल हो। यो मन्दिरमा ब्राह्मण र दलित पुजारीहरू सँगसँगै पूजा–अर्चना गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ।
सोह्रौँ शताब्दीमा तत्कालीन राजा मानुक चन्द (मनि चन्द) को पालामा राजगुरु वीरभद्र पन्तले स्थानीय समुदाय र दलित पुजारीलाई समेत मन्दिरको पूजा–संस्कारमा संलग्न गराएका थिए। त्यसैबेलादेखि हालसम्म ब्राह्मण–दलित पुजारीहरू संयुक्त रूपमा पूजा गर्नेसंस्कार निरन्तर चल्दै आएको मन्दिरका मुख्य पुजारी संस्कार शिरोमणि ज्योतिषाचार्य गणेशप्रसाद पन्त पञ्चाङ्गकार बताउनुहुन्छ।

स्कन्द महापुराणको मानस खण्ड अनुसार भगवान् शिवले आफ्ना गण, यक्ष, किन्नर, गन्धर्व, दिक्पालहरूमार्फत रमणीय पुरीमा ज्योतिर्लिङ्ग स्थापना गराएका थिए जुन नेपालको पहिलो ज्योतिर्लिङ्गका रूपमा यो मन्दिर रहेको मानिन्छ।

वर्षमा विभिन्न समयमा विशेष मेला र अनुष्ठानहरू आयोजना हुने गर्छन्, जस्तै :-
• साउने मेला (साउन १ देखि ३२ गतेसम्म)
• कोटीहोम मेला (चैत शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म)
• अक्षय कुम्भमेला, गङ्गा दशहरा, मकर स्नान, तीज, बालाचतुर्दशी आदि।

विशेष रूपमा माघ महिनाको २२ ताल सशस्त्र लिङ्ग स्नान तथा शल्य दशमीको अवसरमा २२ वटा तालबाट पानी ल्याएर शिवलिङ्ग स्नान गराउने परम्परा अत्यन्तै विशिष्ट मानिन्छ।

नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित मोहन शरण देवाचार्य महाराजले पनि यस मन्दिरको महिमा, ऐतिहासिकता र जातीय समावेशी पूजाको विषयमा विभिन्न सञ्चार माध्यमहरूमा लामो समयदेखि प्रचार गर्दै आउनुभएको छ। उहाँले २०७५ सालदेखि निरन्तर रूपमा वर्षमा तीनपटक मन्दिरमा पुगेर विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गराउँदै आउनुभएको छ।
नेपाल–भारतका विभिन्न क्षेत्रबाट हजारौँ भक्तजन पूजाका सामग्री, सुनचाँदीका गरगहना, बाजागाजा र ध्वजासहित यहाँ आउने गर्छन्। तर बजार–बाटोको पहुँच कठिन र तटबन्ध नहुँदा बाढीको उच्च जोखिम मन्दिर वरिपरि देखिएको छ।
राजा र राजगुरुको पालादेखि मन्दिर सञ्चालनका लागि बनारसीधाम विश्वनाथ गुठीका नाममा ६६६ रोपनी जग्गा व्यवस्था गरिएको छ।

जातीय समावेशीता, प्राचीन परम्परा र शास्त्रीय मूल्यले भरिएको बनारसीधाम विश्वनाथ मन्दिर नेपाली धर्म–संस्कृतिको गौरवशाली उदाहरण हो तर पहुँच सुधार र संरक्षणमा राज्यको ध्यान पुग्न बाँकी देखिन्छ। सम्बन्धित निकायहरूले अब ढिलो नगरी मन्दिरको व्यवस्थापन, तटबन्ध निर्माण, भक्तजनका सुविधाका लागि पाटी–पौवा निर्माण जस्ता विषयमा अग्रसर हुनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ।