नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरेको छ।
पार्टी विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनीमाथि अनुशासन समितिले कारबाही अघि बढाएको थियो। पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको निर्णय पार्टीभित्रै विवादास्पद बनेको थियो।
रामलाल डगौरा संयोजक रहेको अनुशासन समितिले श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो। तर समयमै जवाफ नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले जनाएको छ।
मंगलबार निर्वाचन आयोगमा सो निर्णयपत्र दर्ता गरिएको हो। अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाबाट अनुमोदन गरिने बताइएको छ। समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन्।