सुर्खेत – अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ असुल गर्ने दुई जना व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेतका मुना चन्द्र र गेरूवा गाउँपालिका–शान्ति बजार, बर्दिया घर भई हाल वीरेन्द्रनगर–१० मा बसोबास गर्ने कृष्णबहादुर थारू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूले मुद्दा मिलाइदिने प्रलोभन देखाई पीडित पक्षसँग रकम लिएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि अपराधिक लाभ सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन कार्य अघि बढाएको छ।