नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर पछि निस्केका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू पुनः कारागार फर्किन तयार रहेको बताएका छन्।
कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गर्दै जुनसुकै कारागारमा जान तयार भएको बताएका हुन्। तर तत्काल फर्किन नआउन भनिएको प्रशासन स्रोतले जानकारी दिएको छ। ठीक छ हाम्रै सम्पर्कमा रहनुहोस् परिस्थिति मिलेपछि खबर गर्छौं प्रशासनले भनेको छ।
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका थिए। करिब ३,८०० कैदीबन्दी भएको सो कारागारबाट जेन–जी आन्दोलन उग्रिँदा ३,३०० भन्दा बढी फरार भएका थिए। सुनकाण्डका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ समेत सोही क्रममा फरार भएका थिए।
यसबीचमा फरार भएकामध्ये केही कैदीबन्दी स्वेच्छाले कारागार फर्किसकेका छन् भने केही फर्कने तयारीमा रहेका बताइएको छ। भुटानी शरणार्थी प्रकरणमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू फर्किन तयार रहेको सन्देश कारागार प्रशासनलाई पठाएका छन्।
यसअघि मंगलबार राति नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले सुन्धारा कारागारमा तोडफोड गरेका थिए। त्यस क्रममा प्रहरी भागेर आर्मी हेडक्वाटर पुगेपछि मात्रै नेपाली सेना त्यहाँ पुगेको थियो। सो समयसम्म करिब ३,३०० कैदीबन्दी फरार भइसकेका थिए।