काठमाडौँ —तीब्र राजनीतिक उतारचढावबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ। दिनभरको कडा छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निष्कर्ष निकालेपछि राष्ट्रपति रामचन्द्र पौडेल पछि हट्दै कार्कीलाई सरकारको नेतृत्व दिने तयारी भएको स्रोतले जानकारी दिएको छ।
आन्दोलनकारी युवाले शीतलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले परिस्थितिलाई नियन्त्रणमा राख्न तत्कालै संसद् विघटन र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयमा पुगेका हुन्। यसबारे प्रतिनिधिसभा विघटनको मस्यौदा र नियुक्तिपत्र तयार गर्ने काम भइरहेको शीतलनिवाससम्बद्ध स्रोतले पुष्टि गरेको छ।
जेनजी आन्दोलनले प्रस्ताव गरेकी कार्की संसद् कायम राखेर प्रधानमन्त्री नबन्ने अडानमा थिइन्। काठमाडौंका मेयर बालेन शाहले समेत न्यूनतम सहमति संसद् विघटन भएकोमा जोड दिएका थिए। तर दलका शीर्ष नेताहरु भने संविधानिक ढाँचा भित्रै समाधान खोज्नुपर्नेमा अडिग थिए।
प्रधानसेनापति अशोकराज सिग्देलले साँझसम्म सरकार नबने संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए। तर दोस्रो तहका नेताहरूले संकटकालको विरोध गर्दै सडकमा उत्रिने चेतावनी दिएपछि दबाब झन् बढेको थियो।
नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलहरुले अन्ततः जेनजी आन्दोलनको म्यान्डेटअनुसार कार्कीको नेतृत्वमा सरकार बनाउन सहमति जनाए। बिहीबार राति र शुक्रबार दिनभर चलेको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरु संलग्न थिए।
अन्ततः तीब्र दबाबबीच संसद् विघटन गरेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय भएको हो।