काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जेनजेड पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा कर्तव्यज्यान मुद्दा दर्ता गरिएको छ ।
पूर्वप्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीकै आदेशमा गोली चलाइएको र त्यसका कारण एक दर्जनभन्दा बढी युवाले ज्यान गुमाएको दाबी गरिएको छ ।
जाहेरीअनुसार १७ देखि ४५ वर्ष उमेर समूहका धेरै युवाको ज्यान गएको र कैयौं घाइते भएको उल्लेख छ । ज्यान गुमाउनेमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।
शाहद्वारा दर्ता गरिएको जाहेरीमा घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।













