सुर्खेत – जेनजेड आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुमपश्चिम आठबिसकोट–३ का १७ वर्षीय मनिष विष्ट र सुर्खेत वीरेन्द्रनगर–९ का ३१ वर्षीय गणेश नेपाली रहेका छन्। दुवै जना कर्तव्यज्यान मुद्दामा सजाय भुक्तान गर्दै थिए। प्रहरी सहायक निरीक्षक किशोर खत्रीको टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला कारागार सुर्खेतमा पठाएको हो।
यसैबीच, पर्वत जिल्लामा पनि आन्दोलनको मौकामा कारागारबाट भागेका १९ मध्ये पाँच जनालाई नियन्त्रणमा लिइएको छ। बाँकी १४ जनालाई प्रहरीले स्वेच्छाले आत्मसमर्पण गर्न आग्रह गरेको छ।
प्रहरीले भागेका कैदीले समयमा आत्मसमर्पण नगरे थप मुद्दा थपिन सक्ने चेतावनी दिँदै, समुदायलाई पनि शंकास्पद गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ।














