जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनका क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो ।
यस क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनमा प्रहरीसँग भएका झडप र विभिन्न ठाउँमा आगजनीका कारण मानवीय क्षति बढेको हो ।
मृतक सबैको सनाखत अझै हुन सकेको छैन । जलेका ठाउँ सफा गर्ने क्रममा शव भेटिने क्रम जारी रहेको बताइएको छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा थप ६ जनाको शव फेला परेको छ ।














